काठमाडौं । रास्वपाका कार्यकर्ताले बुधबार देखाएको हर्कतका कारण रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति लामिछानेलाई बयानका लागि तीनदिन अघि चितवन ल्याइएको थियो ।
तर हिजो बुधबार बयान लिन लैजाने क्रममा रास्वपाका कार्यकर्ताले प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए । जसमा छ जना प्रहरी घाइते भएका छन् । यसरी दिउँसो पोखरा ल्याउँदा कार्यकर्ताको अवरोध हुन सक्ने भन्दै रविलाई रातारात पोखरा लगिएको हो । बिहान ३ बजे पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
मंगलबार काठमाडौंबाट चितवन लगिएका रविलाई दुई दिनसम्म निरन्तर सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बुधबार बिहान ८ बजेदेखि राती ८ बजेसम्म बयान लिएर सकाएपछि राति नै उनलाई पोखरा ल्याइएको छ ।
सहारा चितवन सहकारी संस्थाको रकमअपचलन गरेर गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले लगानी गरेपछि उनलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा अनुसन्धान गर्न रविलाई पोखराबाट मंसिर १३ गते पोखराबाट काठमाडौं लगिएको हो । काठमाडौंबाट मंगलबार चितवन लगिएको छ ।