बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)को फ्रेमवर्कमा सम्झौता गरेको छ । अनुदान मात्रै लिने नेपालको प्रस्तावलाई चीनले अस्वीकार गरेपछि सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर सम्झौता भएको विभिन्न टीकाटिप्पणीहरू चलिरहेका छन् । तर यसबारेमा दुवै पक्षले कुनै जानकारी भने गराएको छैन ।
बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीबीच अनौपचारिक रूपमा दुई दिन भएका शृंखलाबद्ध वार्तापछि सो फ्रेमवर्कमा सहमति जुटेको थियो । जसमा एड फाइनान्सियल मोडालिटी भन्ने शब्द प्रयोग गरिएको छ । जसको अर्थ कसैले सहुलियतपूर्ण ऋण भन्ने मानेका छन् भने कसैले सहायता मात्रै भनेको अर्थ्याएका छन् ।
फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्रका कायममुकायम सचिव अमृत राई र चीनका तर्फबाट ‘नेसनल डेभलपमेन्ट एन्ड रिफम कमिसन’ का उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका छन् ।
नेपालले अहिले लिइरहेको सहयोगमा पनि ऋण र अनुदान दुवै समेटिने गर्छ । ‘सहयोग’ ले अनुदान वा ऋण स्पष्ट नहुने भन्दै नेपाली पक्षले असहमति राखेपछि मंगलबार भएको उच्चस्तरीय वार्तामा बीआरआई सम्बन्धमा सहमति हुन सकेको थिएन। तर, बुधबार पनि वार्ता गरी ‘टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी’ भन्ने शब्द राख्न दुवै पक्ष तयार भएपछि हस्ताक्षर सम्भव भएको हो । त्यसपछि भ्रमण कार्यतालिकाभन्दा बाहिर अर्को कार्यक्रम राखेर बुधबार हस्ताक्षर गरिएको हो ।