काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई छाडेर निजी स्वामित्वको हिमालयन एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन उड्न लागेका प्रधानमन्त्री ओली दिउँसो ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङका लागि उडान भर्दैछन् ।
बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६:१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछन् ।
भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुनेछ ।