काठमाडौं खबर मंसिर १६, २०८१
काठमाडौं । काठमाडौंका चारसहित देशभरका कुल ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । काठमाडौंमा कीर्तिपुर नगरपालिकाका प्रमुखसहित दुई वडाध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं १६का वडाध्यक्ष पदका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।
काठमाडौंका चारमध्ये चारै निर्वाचन क्षेत्र अघिल्लो पटक नेपाली काँग्रेसले चुनाव जितेको क्षेत्र हो । तर यी क्षेत्रहरूमा सबै दलहरूले आ-आफ्ना उम्मेदवार जिताउन लागि परेका छन् भने नयाँ र पुराना दलहरू यी क्षेत्रलाई प्रतिष्ठाको लडाइँको रूपमा लिएर चुनावी प्रचारमा लागेका छन् ।
आज देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।