काठमाडौं खबर मंसिर १३, २०८१
काठमाडौं । नेपाल आयल निगमले भलवारीमा रहेको पेट्रोलियम पदार्थको डिपो स्थानान्तरणका लागि डीपीआर तयार पार्न काठमाडौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा)सँग सम्झौता गरेको छ । बुधबार रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने रोहिणी खोलाको किनारमा आयोजित एक कार्यक्रमका बीच आयल निगमका भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार अत्याधुनिक प्रविधियुक्त डिपो निर्माणका लागि केयुले छ महिनाभित्र डीपीआर तयार पारिसक्नेछ । जसका लागि आयल निगमले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसा भुक्तानी गर्नेछ । डीपीआर तयार पारेपछि तुरुन्तै डिपो निर्माणको काम अघि बढाउने र २०८४ मङ्सिरसम्म निर्माण सम्पन्न गरेर भलवारी डीपो स्थानान्तरण समेत गर्ने लक्ष्य रहेको परियोजना प्रमुख यादवले जानकारी दिए । वि.सं. २०३९ सालमा भलवारीमा नेपाल आयल निगमले डिपो स्थापना गरेकोमा ४२ वर्षपछि यसलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।
यो डिपो निर्माणपछि बस्तीका बीचमा जोखिमपूर्ण तरिकाले बसिरहेको भलवारी डिपोको सुरक्षित विकल्प तयार हुने निगमले जनाएको छ । निगमका अनुसार भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा रहेको डिपोमा ७०/८० ट्यांकट्रकको व्यवस्थापन गर्न पनि मुस्किल रहेको छ । उच्च प्रज्वलनशील पदार्थ रहेकाले बस्तीको बीचमा ट्यांकरमा राख्नु जोखिमपूर्ण रहने भन्दै स्थानीयले समेत बेलाबेलामा आवाज उठाउँदै आएका छन् । तर अहिले २१ बिघामा बन्न लागेको सो डिपोमा कम्तीमा एक सय ५० वटा ट्रक तथा ट्यांकर सजिलै आवातजावत गर्न सक्ने यादवले जानकारी दिए ।
नयाँ डिपो बन्ने ठाउँमा पहिलो चरणमा जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने काम भइरहेको छ । सो काममा रोहिणी खोलामा आएको बाढीले केही अवरोध गरे पनि अब भने बाढीको प्रभाव घटेकाले पहिलो चरणका सबै काम सम्पन्न गर्ने आयोजनाको तयारी छ । भण्डारण गृहको निर्माणका लागि परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार जग्गा सम्याउने र वाल लगाउने गरी करिब ९० प्रतिशत काम हालसम्म सम्पन्न भइसकेको छ ।