काठमाडौं खबर मंसिर १२, २०८१
काठमाडौं । लोकतान्त्रिक राज्यप्रणालीमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पार्टी अध्यक्ष र महासचिवविरुद्ध बोलेको भन्दै प्रदेश सभा सदस्यलाई नै कारबाही गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलमाथि सार्वजनिकरूपमा गाली गलौज गर्ने र समाजिक संजालमा पार्टीका नेता/कार्यकर्तालाई खुइल्याउने काम गरेको भन्दै उनलाई पार्टीबाट निलम्बन गरेको हो ।
केही दिनअघि उनलाई एमाले जिल्ला कमिटी बाँकेले स्पष्टीकरण सोधेको थियो । सोको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो।
माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए । उपसचिव पराजित भएपछि उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका थिए । सार्वजनिक आलोचना गरेकै कारण चौधरीलाई बाँके एमालेले स्पष्टीकरण सोधेको थियो ।