काठमाडौं खबर मंसिर १०, २०८१
काठमाडौं । सुनको मूल्यमा भारी मात्रामा गिरावट आएको छ । आइतबार सामान्य अंकमा बढेको सुनको मूल्य सोमबार भने १६ हजारले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको मूल्य एक लाख ५१ हजार तीन सयमा झरेको छ ।
सरकारले सुनचाँदी लगाउँदै आएको २० प्रतिशत भन्सार करलाई समायोजन गरेर १० प्रतिशतमा झारेको पछि सुनको भाउ घटेको हो ।
यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले १५ प्रतिशत कायम रहेको सुनको भन्सार दर पाँच प्रतिशतले थपेर २० प्रतिशत कायम गरेको थियो । छिमेकी मुलुक भारतले त्यसलाई १० प्रतिशत कायम गर्दा नेपाल र भारतबीचको सुनको मूल्यमा भारी अन्तर भएर तस्करी भएको थियो ।
त्यसैलाई नियन्त्रण गर्न सरकारले भन्सार दर घटाएको हो ।