काठमाडौं । नेकपा एमालेले बालेन एमालेविरुद्ध परिचालित भएको आरोप लगाएको छ । शुक्रबार दरबारमार्गमा आयोजना भएको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेविरुद्ध एक लाख जरिवाना तोकेर पत्र लेखेको थियो । त्यसबाट आक्रोशित नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ‘एमालेविरुद्ध परिचालित भएको’ गम्भीर आरोप लगाएका हुन्।
शुक्रबार महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले शुक्रबार साँझ एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको’ पत्र एमाले केन्द्रीय कार्यालयमा पठाएका थिए।
पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाट भइरहेको र त्यो फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको बताएका छन्। ‘अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो। जुन समय अगावै सार्वजनिक गरियो।’