काठमाडौं खबर मंसिर ७, २०८१
काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्यो । चरम विवादका बीच सरकारको नेतृत्व गरिरहेको दल एमालेले सडकमा कार्यकर्ता उतारेर गरेको शक्ति प्रदर्शनको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न एमालेले जागरण सभा गर्ने भनेको थियो। तर उसको यो शक्ति प्रदर्शनले जनतालाई सास्ती भन्दा केही भएन ।
नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले यो आमसभाबाट खासै महत्वपूर्ण कुरा पनि केही पनि भनेनन् । यी सबै गतिविधिबाट यो एमालेको लहडी पाराभन्दा केही पनि देखिएन ।
जागरण सभाको नेतृत्व नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका थिए । नेतृत्व गर्ने भनिएका बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराई कम्बोडियातिर हानिएपछि उनो ठाउँमा ढुंगेलले गरेका थिए । आजको सभाको र्याली भद्रकालीबाट सुरु भएको थियो । र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ: तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिदैनः प्रगतिशील र अग्रगमन छाडिदैन’, ‘देश बन्दैन नकरात्मकतालेःअघि बढौँ सकरात्मकताले’, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरौँ’ भन्ने नारा गुञ्जिएको थियो ।
नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले सभा गर्नुपरेको बताएको थियो । तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउने नभएर प्रष्टोक्ति दिन समय खर्चिए । प्रधानमन्त्री ओलीको मुख्य जोड यो सरकारको स्थायित्वप्रति विश्वास दिलाउने थियो ।
जनासभाको अर्को उद्देश्य एमाले नेतृत्वसँग जोडेर प्रचार गरिएको कान्डहरूबारे प्रष्टाउनु रहेको देखियो । यति, ओम्नी, गिरीबन्धु हुँदै कम्बोडियामा लगानीसम्मका प्रचारको अध्यक्ष ओली र महासचिव पोखरेलले प्रष्ट्याउन खोजेका थिए । समग्रमा एमालेको यो जागरण सभाबाट एमालेले सोचेजस्तो प्रगति भने भेटेको देखिँदैन ।