काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले काठमाडौंको दरबारमार्गमा आज ‘जागरणसभा’ गर्दैछ । एमालेले सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएपनि पछि दरबारमार्गमा आयोजना हुने गरी सभास्थल सारेको थियो । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जागरणसभामा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर दरबारमार्गमा पुग्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सामाजिक सद्भाव, सुशासन, समृद्धि तथा विकासको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको एमालेले जनाएको छ ।
जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले पाएका छन् । यसअघिका संयोजक राजन भट्टराई आईसीएपीपीको १२ औँ अधिवेशनमा सहभागी हुने कम्बोडिया उडेपछि ढुंगेलले जिम्मेवारी दिइएको हो ।
त्यसो त कम्बोडियाको कार्यक्रम उति महत्वपूर्ण कार्यक्रम पनि थिएन । सभामुख देवराज घिमिरे समेत सहभागी हुने सो कार्यक्रमलाई परराष्ट्र मन्त्रालयले समेत जान उचित नहुने कार्यक्रम भनेर राय पेश गरेको थियो । तर सो कार्यक्रममा जानका लागि भट्टराईले ‘विशाल’ जागरणसभाको नेतृत्व छाडेपछि एमालेभित्र असन्तुष्टि सुरु भएको छ ।