काठमाडौं खबर मंसिर ३, २०८१
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुङ्गाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुन् ।
यसैगरी उनी विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार हुन् । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उनले पार्टीको सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उनले सक्रिय भूमिका निर्वाह गरे । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुङ्गानाले पु¥याउनुभएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनको निधनबाट सिङ्गो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ ।