काठमाडौं खबर मंसिर २, २०८१
काठमाडौं । रवि लामिछानेको रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन अपेक्षाकृत रूपमा सफल हुन नसकेपछि दोस्रो चरणको आन्दोलनका लागि रास्वपाले तयारी गरेको हो । उसले दोस्रो चरणको आन्दोलन सशक्त बन्ने दाबी गरेको छ ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए ।
यसअघि कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई अहिले कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा अनुसन्धान गरिरहेको छ । हरेक पटक म्याद थप गर्ने दिन अदालतलाई दबाब दिन आन्दोलन गर्दै आएको पार्टीले पाँचौँ पटक रविको म्याद थप गर्ने मंसिर ८ गतेबाट नै दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।