काठमाडौं खबर मंसिर २, २०८१
काठमाडौं । सत्ताबाट बाहिरिनुपरेको करिब एक महिनापछि अर्थात् साउन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अब ८४ सालसम्म सरकारमा पनि नजाने र प्रधानमन्त्री पनि नबन्ने घोषणा गरेका थिए । हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा जान आफूलाई अहिले हतार गर्नु नरहेको भन्दै उनले थपेका थिए, ‘२०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु । प्रधानमन्त्री पुग्यो अहिलेलाई ।’
उनले बोलेको चार महिना पनि नपुग्दै उनमा छटपटी सुरु भएको छ । पहिले खासै धेरै नबोल्ने प्रचण्ड अहिले फुर्सदमा भएपछि धेरै कार्यक्रममा सहभागी हुन थालेका छन् । जसले उनको एकै दिन पनि थरिथरिका कुराहरू आउन थालेको छ ।
शनिबारको एक कार्यक्रममा त उनले आफूहरू सरकारमा जाने समयको पर्खाइमा रहेको सुनाए । प्रचण्डले आफूहरूको दल नयाँ सरकारका लागि पर्खिरहेको बताएका छन् । काभ्रे–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अहिलेको सरकार उल्ट्याएर आफूहरूको सरकार बन्ने दाबी गरे। ‘हामी ३२ भएको हुनाले विपक्षी दलको नेता छ, विपक्षी दल भनेको गभर्मेन्ट अफ वेइटिङ अर्थात् पर्खिरहेको सरकार हो। त्यसकारण यो सरकारलाई उल्टाएर बन्ने सरकार हाम्रो हो। त्यसकारण हामी चिन्तित हुनुपर्ने कुनै कुरा छैन,’ अध्यक्ष प्रचण्डले भने।
यसरी साढे २ वर्षसम्म सरकारमा नजाने घोषणा गरेर बसेका उनमा यति छटपटी बढ्यो कि उनी जसरी हुन्छ छिटै सरकारको नेतृत्व गर्ने र आफ्नो पार्टीलाई सरकारमा लगिहाल्नमा हतारिन थालेका छन् ।