काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले आफ्नै पार्टीका सांसदको कम्पनी कालोसूचीमा परेपछि त्यसमाथि प्रश्न उठाएका छन् । शुक्रबार बसेको संसदीय समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा विश्वप्रकाशले नै कुरा सुरु गरेका थिए । त्यसपछि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा केहीबेर सवालजवाफ समेत भएको छ।
बैठकमा राज्यमन्त्री तामाङ अख्तियार ऐन संशोधनकर्ताका रुपमा उपस्थित थिए। त्यस क्रममा शर्माले राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा परेको विषय के हो भनेर प्रश्न उठाएका थिए। शर्माले भने,’राज्यमन्त्रीकै कम्पनीले समयमा निर्माणसम्बन्धी काम नगरेको भनेर कालोसूचीमा परेको छ। यो विषय के हो।’
जवाफमा राज्यमन्त्री तामाङले सांसद हुनुभन्दा दुई वर्षअघि नै आफूले कम्पनी छाडिसकेको दाबी गरे। उनले भने, ‘मैले सांसद हुनुभन्दा दुई वर्षअघि नै कम्पनी छाडिसकेँ। कानुनबमोजिम मैले कम्पनीको कुनै पनि दायित्व बहन गर्नु पर्दैन।’ यदि आफूले कानुनविपरीत काम गरेको भए एक मिनेट पनि पदमा नबस्ने बताए। कम्पनीले गरेको कामका लागि कानुनबमोजिम अयोग्य ठहरिने भए आफूले राजनीति नै छाडिदिने उनको भनाइ थियो।
यसरी आफ्नै सांसदलाई समेत जोगाउनतिर नलागी नराम्रो काममाथि प्रश्न उठाएपछि नेपाली काँग्रेसभित्रको लोकतान्त्रिक चरित्रमाथि चर्चा सुरु भएको छ । अन्य पार्टीमा आफ्ना नेता कार्यकर्ताहरूले गरेको गलत कामको समेत बचाउ गर्ने गरेको बेलामा आफ्नै पार्टीका सांसदमाथि समेत प्रश्न उठाउनुले काँग्रेसको लोकतान्त्रिक चरित्रको चित्रण गरेको देखिन्छ।