काठमाडौं खबर कार्तिक २९, २०८१
काठमाडौं । करिब छ महिनासम्म नटुंगिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि फेरि पनि अन्तर्वार्ताको मिति तोकिएको छ । एक पटकको नियुक्ति प्रक्रिया खारेज गरेर फेरि सुरु गरिएको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि अहिले संक्षिप्त सूचीमा समावेश भएका तीन जनालाई अन्तर्वार्ताको लागि बोलाइएको हो ।
बिहीबार अर्थमन्त्रालयअन्तर्गत्को धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले जारी गरेको सूचनाअनुसार मंसिर ९ गतेका लागि अन्तर्वार्ताको मिति तोकिएको छ ।
अन्तर्वार्ता सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । सो अन्तर्वार्ताका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाई र डा नवराज अधिकारीलाई संक्षिप्त सूचीमा छानिएको छ ।