काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पाँच घण्टा लामो बयान लिएको छ । मितेरी सहकारीको १४ करोड रुपैयाँ ठगी प्रकरणमा गुरुङसँग सीआईबीले बयान लिएको हो ।
लाजिमपाटस्थित सीआईबीको कार्यालयमा बुधबार उनीसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । बयानमा उनले आफू ठगी प्रकरणमा संलग्न नरहेको दाबी गरेका छन् ।
बयान लिएपछि उनीसँग घटना विवरण कागज समेत गराइएको सीआईबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ । सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।