काठमाडौं खबर कार्तिक २८, २०८१
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले अराजकताविरुद्ध सडकमा कार्यकर्ता उतार्ने भएको छ । जागरण सभाको नाममा यही मंसिर ७ गते काठमाडौंमा एमालेले जनप्रदर्शन गर्ने निर्णय गरेको छ । जसको कमाण्ड नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईले गर्ने भएका छन् ।
बुधबार पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको बताइएको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ ।
समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहेका छन् । सभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।