काठमाडौं खबर कार्तिक २५, २०८१
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले रवि लामिछाने जेल परे पनि पार्टी सभापति उनी नै रहने घोषणा गरेका छन् । आज रवि लामिछानेलाई म्याद थप गर्न अदालत लैजाने दिन पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै अर्यालले रवि जिउँदो रहेसम्म सभापति रहने बताएका हुन् ।
संवैधानिक रूपमा उनी फौजदारी मुद्दामा दोषी ठहर भए भने पार्टी सभापति बन्न अयोग्य रहन्छन् । तर अर्यालले भने जुनसुकै परिस्थिति आए पनि उनी जिउँदो रहेसम्म पार्टी सभापति रहने घोषणा गरेका हुन् । ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’ रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् ।
आफूलाई प्रजातान्तिक पार्टी भनेर दाबी गरिरहेको रास्वपाले सभापतिको विकल्प भने नरहेको स्पष्ट पार्दै आएको छ ।