काठमाडौं । पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले विज्ञप्ति जारी गरेका छन् । अदालतबाट पाँच वर्ष कैद सजायसहितको फैसला आएपछि सम्पर्कविहीन भएका मनाङेले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् ।
मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन् ‘(फैसलापश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो । सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखितरूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।
सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यमबाट तारान्तार आइहेका कलका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको उनले बताएका छन् ।