काठमाडौं । नेपाली काँग्रेसले उपत्यकाबाहिरका स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरूको उम्मेदवार टुंगो लगाएको छ । तर काठमाडौं उपत्यकाका एक नगरप्रमुखसहित तीन वडाध्यक्षको लागि भने काँग्रेसले उम्मेदवार यकिन गरेको छैन । यसरी टुंगो लागेका पालिकामा मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका रहेका छन् । त्यस्तै, उपाध्यक्षतर्फ दोलखाको गौरीशंकर गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिका रहेको छ । काँग्रेसले पालिका अध्यक्षमा कीर्तिपुरका मेयरसहित उपाध्यक्षका लागि निर्वाचन हुने थप स्थानहरु हुम्लाको सर्केगाड, पूर्वी रुकुमको पुथाउत्तरगंगा र बाजुराको स्वामिकार्तिक खापरमा उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
मोरङको ग्रामथानमा गाउँपालिका अध्यक्ष पदमा कांग्रेसले बलराम सरदारलाई उठाउने भएको छ । त्यस्तै, दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार झलकबहादुर भण्डारीलाई बनाउने भएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा कांग्रेसले इन्द्रा चन्द सिंहलाई टिकट दिएको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा पासदिकी शेर्पा तामाङलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ । बाजुरास्थित स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उम्मेदवारमा पुल्तीसरा शाहीको नाममा सहमति जुटेको जिल्ला तहका नेताले जानकारी गराए ।
उता, मेयर पदका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि चुनाव हुँदैछ । कांग्रेसबाट ११ जनाको नाम नगर समितिबाट सिफारिस भए पनि टुंगो लागिसकेको छैन । विधानतः नगरको मेयर उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई हुन्छ । बागमतीका प्रदेश सभापति इन्द्र बानियाँले सिफारिस भइ आएका सबै उम्मेदवार योग्य रहेको बताए । उनले भने, ‘तल्लो तहबाट आएका सबै उम्मेदवार हुन योग्य छन् । हामीले चुनाव जित्ने र योग्य उम्मेदवार छान्छौं ।’ बानियाँले १/२ दिन भित्रमा उम्मेदवार चयन हुने जानकारी गराए ।