काठमाडौं खबर कार्तिक १०, २०८१
काठमाडौं । रवि लामिछाने पक्राउको विषयमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई जिब्रे कुरा गरेका छन् । सत्तारुढ दल भएर पनि गत शुक्रबार सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछानेको गिरफ्तारी राजनीतिक प्रतिशोध गरेको दाबी गरेका थिए । जबकि उनी सरकारमा मन्त्री बनेर कसैलाई नपठाए पनि उनी सत्तापक्षीय दलका नेता हुन् । उनले रवि पक्राउ पर्दा भनेका थिए ‘२१ सीट भएको नयाँ/राष्ट्रिय पार्टीका सभापति रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनं,’ यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको हो, भावी पुस्ताको स्वर्णिम भविष्यलाई भ्रूणमा नै हत्या गर्न खोजिएको हो। यो पक्राऊ राज्यद्वारा ‘फ्रेमिङ्ग’ गरिएको हो ।’
तर तिनै सिके राउतले सत्तारुढ दलसँगको छलफलपछिको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेर रविको पक्राउपछिको आन्दोलन लोकतन्त्र र विधिको शासन प्रभावित पार्ने कार्य भन्दै आलोचना गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सात दलीय बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सत्ता गठबन्धनले भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासनविपरीत रहेको बताएको थियो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नहुने पनि बताएका छन् । उनीहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने अवाञ्छित गतिविधि उचित नभएको बताएका छन् ।
सो वक्तव्यको चौथो नम्बरमा नै सिके राउतले हस्ताक्षर गरेका छन् । उनी अहिले सरकारमा प्रत्यक्ष सहभागी छैनन् । तर उनले मधेशमा आफ्नो नेतृत्वमा रहेको सरकारलाई जोगाउनका लागि केन्द्रमा काँग्रेस एमालेको सरकारलाई समर्थन गरिरहेका छन् ।