काठमाडौं । सहकारी ठगी मुद्दामा सभापति रवि लामिछाने पक्राउ परेपछि करिब एक सातादेखि आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनमा उपस्थितको संख्या घट्न थालेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ । आन्दोलनबाटै सभापति छुटाउने लक्ष्य लिएर आन्दोलनमा उत्रिएको रास्वपाको आन्दोलन एक सातामै तुहिएको हो ।
अब कसरी अघि बढ्ने भन्ने बारेमा शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो । विरोध प्रदर्शनको आगामी कार्यक्रमको स्वरुपवारे छलफल गर्न अनौपचारिक बैठक जारी रहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
सभापति लामिछानेलाई बिहीबार दोस्रोपटक हिरासतमा राख्ने म्याद थप गरेपछि रास्वपाले आन्दोलन काठमाडौं केन्द्रीय गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रास्वपाले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको थियो । तर शुक्रबार पनि मान्छेको उपस्थिति कम भएपछि रास्वपाले आन्दोलनको नयाँ मोडालिटीबाट अघि बढ्न खोजेको हो ।