काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम जोडिएकी धनराज गुरुङकी पूर्वपत्नी नेपालमा नभेटिएपछि इन्टरपोलमार्फत् खोजी कार्य सुरु भएको छ । नेपालमा नभेटिएपछि विदेशमा रहेको आशंकामा उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको प्रहरी स्रोतले जनाएको छ । सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।
पछिल्लो समय रवि लामिछानेलाई छानबिनका लागि पक्राउ गरिएपछि धनराजकी पूर्वपत्नी र उनलाई किन पक्राउ नगरिएको भनेर चौतर्फी आक्रोश बढिरहेको बेलामा प्रहरीले मुद्दा जारी गर्न लागेको हो । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।