काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा हिजो झगडा परेको छ । सधैं विवाद र असझदारीमा गुज्रिने यी दुई नेताहरूबीच सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुग्दा झगडा परेको हो ।
विपक्षी दलहरूले समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो । उनीहरू सोही कामको लागि बालुवाटार पुगेका थिए । सो कार्यक्रममा प्रचण्डले फ्याट्ट रविको कुरा निकालिहाले । त्यसपछि केपी ओली पनि रविको आक्रामक भनाइप्रति असन्तुष्ट रहेछन् । उनले पनि आक्रोश पोखिहाले । जब लामिछानेको गिरफ्तारीको सन्दर्भ प्रचण्डले कोट्याए, ओलीले लामिछानेप्रतिको आक्रोश थाम्न सकेनन्। पक्राउ पर्नुअघि लामिछानेको ‘सरकार मरेकाले आफूलाई जुठो परेको’ भन्ने भनाईप्रति आक्रोश पोखे। ओलीले सो अभिव्यक्तिलाई संस्कारहीन करार गरिदिए ।
‘आज म मरेँ, मेरो दाहसंस्कार गरियो, मलामी फर्कंदै होलान्’ ओलीले लामिछानेको भनाईप्रति आक्रोस पोख्दै भने, ‘को–को किरिया बसे? म पनि किरिया बस्न जानुपर्ने हो कि?’ लामिछानेको भनाईलाई ओलीले संस्कारहीन करार गरेपछि त्यसको जवाफ माधव नेपालले दिए। उनको जवाफ थियो, ‘राजनीतिमा यस्तो संस्कार अरुले होइन, तपाईंले नै सिकाएको हो।’ त्यसपछि त विवाद सुरु भइहाल्यो । उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो ।