काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा नेकपा एमालेले मुख खोलेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुसन्धानलाई प्रभावित गर्ने गरी गतिविधि गर्नु उचित नभएको टिप्पणी गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले सत्तामा भएकै बेला सत्तारुढ दलका नेता कार्यकर्तालाई समेत पक्राउ गरेर अनुसन्धान गरेको भन्दै पक्राउ परेको विषयमा रास्वपाले तडकभडक देखाएपछि महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सहकारी प्रकरणमा आरोपित भएका एमालेसम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली र केवी उप्रेतीलाई जिम्मेवारीबाटै हटाएर पार्टीले अनुसन्धानमा सघाएको समेत स्मरण गराएका छन् ।
‘अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सहकारी प्रकरणमा आरोपित भएका नेकपा (एमाले) सम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली बागलुङ र केवी उप्रेती काठमाडौंलाई जिम्मेवारीबाट हटाएरै अनुसन्धान प्रक्रियामा सहयोग गरेको थियो ।’