काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फौजदारी मुद्दा अनुसन्धानका लागि पक्राउ परेका छन् । पछिल्लो पाँच वर्षमा उनको यो दोस्रो हिरासत यात्रा हो । पाँच वर्षअघि पनि उनकै सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा उनी पक्राउ परेका थिए । शुक्रबार कास्की जिल्ला अदालतको अनुमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर कास्की लगेको छ । उनलाई सहकारी ठगीसहित संगठित अपराधको मुद्दामा समेत अनुसन्धान हुने भएको छ ।
रवि पक्राउ परेसँगै फौजदारी मुद्दामा पक्राउ पर्ने रवि छैटौं गृहमन्त्री बनेका छन् । त्यसो त रविविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छैन। उनलाई पोखराको सूर्यदर्शन सहकारी गठी प्रकरणमा अनुसन्धानका लागि मात्र हिरासतमा लिइएको हो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने गरी उनलाई पक्राउ गरिएको छ। अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे यही प्रकरणमा २७ दिनदेखि हिरासतमै छन्। उनका विरुद्धमा मुद्दा चलेमा फौजदारी अभियोगको सामना गर्ने छैटौँ गृहमन्त्री बन्नेछन्।
यसअघि गोविन्दराज जोशी, खुमबहादुर खड्का, विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र बालकृष्ण खाँणले विभिन्न फौजदारी अभियोगको सामना गरिसकेका छन् । खुमबहादुर खड्का सर्वोच्च अदालतबाटै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद सजायसमेत भुक्तानी गरेर पार्टी राजनीतिमा फर्किएका थिए । गोविन्दराज जोशीलाई पनि सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेको छ। गृहमन्त्री र सभामुख समेत बनेका कृष्णबहादुर महरा जबरजस्तीकरणी उद्योग (प्रयास) को अभियोग नै खेपे। २०७६ असोज १९ मा पक्राउ परेका उनी २०७६ फागुन ५ गते जिल्ला अदालतबाट सफाइ पाएर रिहा भएका थिए ।
बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सामेल भएको अभियोग खेपे। उक्त मुद्दा अहिले पनि विचाराधीन नै छ। विजयकुमार गच्छदार बालुवाटारको ललितानिवास जग्गा घोटाला प्रकरणमा मुद्दा धाइरहेका छन् । सुशासनको मुद्दा लिएर राजनीतिमा आएका रवि छोटो समयमा नै खुमबहादुर खड्का र विजयकुमार गच्छदारको कित्तामा परेका छन् ।