

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेपछि बिथोल्नको लागि कार्यकर्ता गुहारेको छ । शुक्रबार साँझ नै उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
दशैँ बिदा सकाएर न्यायाधीश कृष्णजंग शाह अदालत हाजिर भएसँगै लामिछानेविरुद्धको पक्राउ पुर्जी लिन प्रहरी अदालत पुगेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीमा पुगेका छन् । उनीसँग डीएसपी वसन्त शर्मासमेत छन् ।
सभापति पक्राउ पर्ने भएपछि रास्वपाले पक्राउ बिथोल्न कार्यकर्तालाई पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरेको छ । रास्वपाकाे कार्यलयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसहित प्रमुख नेताहरु उपस्थित छन् । लामिछानेकी पत्नी निकिता पाैडेल पनि केहीबेरअघि पार्टी कार्यालय प्रवेश गरेकी थिइन् ।
रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले फेसबुकमार्फत कार्यकर्ताहरूलाई तत्काल पार्टी कार्यालय आउन आग्रह गरेकी छन् । उनले भनेकी छन् ‘काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला ।’