काठमाडौं । नेकपा एमालेका लागि भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले बनाइदिन लागेको पार्टी कार्यालयको मुद्दा सर्वोच्च पुगेको छ । राजनीतिक दल, नेता र नेतृत्वले चन्दा उठाउँदा कुनै उपहार, दान र अरू सहयोग लिँदा त्यो खुला र पारदर्शी हुनुपर्ने भएपनि यो मुद्दामा त्यस्तो नभएको जिकिर गर्दै बिहीबार सर्वोच्च अदालतमा मु्द्दा दायर भएको हो ।
अधिवक्ताहरु डा. ज्ञान बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले दानमा पार्टी कार्यालय बनाउने कार्य गम्भीर भ्रष्टाचारजन्य अपराध भएको हुँदा रोक्न माग गर्दै रिट पेश गरेका हुन् ।
गत असोज २५ गते भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमाले पार्टी कार्यालयको शिलान्यास गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ । उक्त कार्य गम्भीर भ्रष्ट्राचारजन्य अपराध, राज्यसत्ताको दुरुपयोग, नैतिक र कानुनी अपचलन भएको भन्दै रिट दायर भएको हो । रिट दर्ता भइनसकेको र अदालत प्रशासन अध्ययनको क्रममा रहेको बताइएको छ ।