

काठमाडौं । रवि लामिछानेको नागरिकता र पासपोर्टको मुद्दामा उजुरी दिएर भाइरल भएका युवराज सफलले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेका छन् । व्यवसायीले दिएको जग्गामा पार्टी कार्यालयको शिलान्यास गरेको विषयलाई लिएर उनले अख्तियारमा उजुरी दिएका हुन् ।
सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको आरोप लगाएका छन्। उनले व्यापारीले उक्त पार्टी कार्यालयको भवनसमेत बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन् ।
सफलले दिएको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन्। निवेदनमा भनिएको छ, ‘२०८१ असोज २५ गते नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा गुरुङद्वारा उपलब्ध गराइएको र उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको विषयले गम्भीर शंका उत्पन्न भएको छ।’