काठमाडौं । अब गौशालामा रहेको धर्मशाला पशुपति क्षेत्र विकास कोषकै स्वामित्वमा आएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो ।
व्यस्त स्थानमा कौडीको भाउमा माडवारी सेवा समितिले चलाउँदै आएको सो धर्मशालासम्बन्धी सम्झौता खारेजका लागि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते निर्णय गरेको थियो । सो निर्णयपछि समितिले मुद्दा दायर गरेको थियो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो ।
यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ । अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को चार रोपनी १५ आना दुई पैसा क्षेत्रफल र सोही स्थानको कित्ता नं. ८५ को चार रोपनी दश आना क्षेत्रफल गरी जम्मा नौ रोपनी नौ आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
समितिले करिब १० रोपनी जग्गाको भोगचलन गरेबापत वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्को धर्मशाला प्रयोग गरेको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिनेछ सदस्यसचिव थापाले जानकारी दिए । सो क्षेत्रमा मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । समितिले व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दूध बेच्दै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटा सटर मासिक रु ३५ हजारसम्ममा भाडामा लगाएको थियो ।