काठमाडौं खबर अशोज १५, २०८१
काठमाडौं । पछिल्लो समय अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देश राष्ट्रिय विपत्तिमा परिरहेको बेला संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस यसको तत्कालीन समस्या समाधान र दीर्घकालीन समाधानको बाटो खोज्न गगन थापा सक्रिय भएका छन् । विपत्तिको समयमा तत्कालीन समाधान मात्रै खोज्दा यसले समयसमयमा ठूला क्षति पुर्याउने भन्दै उनले तत्कालीनसँगै दीर्घकालीन समस्या समाधानमा पनि पार्टी पंक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा सोमबार काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विज्ञहरूसँग छलफल गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको बैठकमा उनले विपद् व्यवस्थापनमा लामो समय काम गरेका विज्ञहरू, इन्जिनियर र पार्टीका भातृ सङ्गठनहरूसँग छलफल गरी आआफ्नो क्षेत्रबाट कुन भातृसंस्थाले यो विपत्तिमा कस्ता काम गर्न सक्छन् भन्नेबारेमा छलफल गर्दै नयाँ मोडालिटी बनाएर सम्पूर्ण पार्टीलाई परिचालन गर्ने गरी काम सुरु गरेको थापाले जानकारी दिए । नेपाली काँग्रेसले आफ्नो पूरै ऊर्जालाई विपद्का बेला जनतासंग जोडिने गरी काम गर्नमा लगाउने निर्णय पनि बैठकले गरेको छ । सोमबारको बैठकमा विपद् व्यवस्थापनमा लामो समय काम गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कार्यानुभव हाँसिल गरेका विज्ञहरूसँग कुन क्षेत्रमा कसरी काम गर्दा प्रभावकारी नतिजा हाँसिल गर्न सकिन्छ भन्नेबारेमा सुझाव संकलन गरेका थिए ।
कार्यक्रममा एसियन म्यानेजमेन्ट इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत मानबहादुर थापाले अहिलेको विपद् व्यवस्थापनमा नेपाली काँग्रेसले कुनै पनि पार्टी नभनी तुरुन्तै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । ७ वटा भन्दा धेरै देशमा विपद् व्यवस्थापन विज्ञको रूपमा काम गरिसकेका थापाले अहिलेको विपद् व्यवस्थापमा सबैभन्दा पहिले तुरुन्तै लेखाजोखाको काम गर्नुपर्नेमा जोड दिए । विसं २०७२ सालको भूकम्पपछि सरकारले नै राष्ट्रिय लेखाजोखा मार्गनिर्देशन तयार पारेको भन्दै त्यसैलाई पनि आधार मानेर हामीले इमिडेट रिस्क एसेस्मेन्ट गर्नेमा उनले जोड दिए ।
तत्काल गर्नुपर्ने अर्को काममा पार्टीले विशेषत: आफ्ना दलले जितेका स्थानीय तह होस् या जिल्ला समन्वय समितिलाई सक्रिय गराएर ती पालिकाहरूमा उदाहरणीय रूपमा अर्ली रिकभरी वा पुनर्लाभको काम गर्नुपर्नेमा सुझाव दिए । अब प्लास्टिक र खानेकुरा बाँडेर तत्कालीन देखासिखी नगरी वास्तविकरूपमा प्रभावितको आवश्यकता हेरेर काम गर्नुपर्नेमा उनले जोड दिए । विपद् एउटा भए पनि यसले महिला, बालबालिका र वृद्धवृद्धामा पार्ने असर फरकफरक हुने भन्दै यो विषयमा संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने पहिलो ३ महिनामा त्रिपाल दिने, अर्को ३ महिनामा कन्टेनर दिने र त्यसको छ महिनापछि घर बनाइदिने रहेको छ । यसरी द्रूत गतिमा पार्टी पङ्ति विभिन्न स्वयंसेवक संस्था र सरकारसँग समेत सहकार्य गरेर यसको समाधानमा लाग्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, बैठकमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष लक्ष्मण केसीले अहिले विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी लिएको गृह मन्त्रालयको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको भन्दै पार्टीले गृहलाई समेत सक्रिय गराउँदै पार्टीका भातृ संस्थाहरूलाई आफ्नो क्षेत्रअनुसार परिचालन गर्नुपर्नेमा जोड दिए । विपद्पछि राहत र पुनर्स्थापना समेत नभई सम्भावित स्वास्थ्य समस्या, सम्भावित महँगी र कालोबजारीको समस्या आदिको व्यवस्थापन र न्यूनीकरणमा समेत पार्टीले भातृ संस्थालाई परिचालन गर्नुपर्नेमा जोड दिए । अहिले विपद्को समग्र नेतृत्व गर्ने गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय समेत काँग्रेसको नेतृत्वमा रहेको भन्दै यी मन्त्रालयलाई चलायमान बनाउँदै काँग्रेसले प्रभावकारी विपद् व्यवस्थापनमा नेतृत्व लिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा अन्य विभिन्न क्षेत्रका विज्ञ र पार्टीका भातृ संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकले पार्टीका सबै भातृसंस्थालाई आफ्नो क्षेत्रबाट विपद् व्यवस्थापनमा के-के गर्न सकिन्छ भन्नेमा छलफल गरेर प्रभावकारी कार्य गर्नका लागि मोडालिटी तयार पारिएको थियो । जसमा पार्टीको चिकित्सक संघले चिकित्सा क्षेत्रमा आफ्नो काम गर्ने छ, इन्जिनियरिङ संघले निर्माणलगायत, तरुण दल र विद्यार्थी संघले स्वयंसेवा परिचालन जस्ता क्षेत्रमा नेतृत्व लिने भएका छन् । बैठकले आजैदेखि पार्टीलाई विपद् व्यवस्थापनमा सक्रिय गराउने र देखिने गरी यसको प्रभावकारिता खोज्ने विषयमा पनि निर्णय भएको थापाले जानकारी दिए ।
यस्तो छ पार्टी बैठकमा भएको छलफल र सुझावको पूर्ण भिडियो