

काठमाडौं । नेपाली काँग्रेसले अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परी प्रभावित भएकाहरूलाई राहतस्वरुप ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताए । उनले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजी तीब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको बताए ।
त्यस्तै, पार्टीको भ्रातृ, शुभेच्छुक संगठन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ । दीर्घकालीन संरचना, सञ्चार संरचना, सडक, पुल, जलविद्युत आयोजनाहरूमा भएको क्षतिको यथार्थ मूल्याङ्कन गरी चाँडो भन्दा चाँडो सुचारु गर्न जोड दिएको छ । विषम परिस्थितिमा कालोबजारी हुनसक्ने, सवारी साधनमा हुनसक्ने वृद्धिलाई मध्यनजर राखेर गम्भीर रूपमा व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।