काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंसँग सबै तर्फको सडक सम्पर्क टुटेपछि एक मात्र विकल्पको रूपमा रहेको हवाई यात्रामा पनि यात्रुहरूमाथि लुट सुरु भएको छ । अत्यावश्यक रूपमा यात्रा गर्नुपर्ने यात्रुलाई माग धेरै भएको भन्दै भाडा बढाइएको हो । विपद्को समय भन्दै सबै क्षेत्रबाट आ-आफूले सकेको सहयोग गर्दै आए पनि विमान कम्पनीहरूले भने डिमान्ड र सप्लाईको सिद्धान्त प्रयोग गर्दै माग बढी भएपछि भाडा बढाएका हुन् ।
यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ । बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो ।
काठमाडौँ–विराटनगरको एकतर्फी रु सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरुले बढाएर रु नौ हजार नौ सय पुर्याएको जनाइएको छ । साथै, काठमाडौँ–धनगढीको एकतर्फी भाडा रु १७ हजारसम्म निर्धारण गरिएको छ । ,
वायुसेवा कम्पनीहरूको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए। “विमान कम्पनीहरुले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ”, उनले भने । उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए ।
वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरु लागेको दाबी गरे । उनले भने, “हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरुलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ ।”
कानुनीरूपमा गलत नभए पनि विपद्को समयमा झनै राहतको प्याकेज ल्याउनुपर्नेमा विमान कम्पनीहरूले झनै भाडा बढाउँदा आलोचना सुरु भएको छ ।