काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोले काठमाडौं उपत्यकामा ५५ वर्ष पुरानो रेकर्ड ब्रेक गरेको छ । मौसम विभागका अनुसार काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । विभागका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।
उता सुनकोशी र रोशीमा सत्तरी वर्षपछि भयानक बाढी आएको छ । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ । सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन् ।
बाढीबाट खुर्काेट बसपार्क डुबेको छभने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ । बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छभने धानबाली नष्ट भएको छ । सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबँेसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए।