काठमाडौं । राष्ट्रिय विपद्को समयमा पनि सरकार र विपक्षी दलले छुट्टाछुट्टै सर्वदलीय बैठक बोलाएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
सरकारले बोलाएपछि नै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा ‘प्रचण्ड’ले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुने भनिएको छ । एउटै विषयमा छलफल गर्न भिन्नभिन्न स्थानमा सरकार र विपक्षीको सर्वदलीय बैठक बोलाउनुले उद्धार राहतभन्दा पनि राजनीतिक होड देखिएको छ ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकारको नेतृत्वमा सबै दल र निकायले सहयोग गर्नुपर्नेमा विपक्षी दलले समेत समानान्तर बैठक डाकेको हो । कार्यकारीको हिसाबले सुरक्षा निकायको परिचालन र राहत तथा उद्धारको काममा सरकारसँग नै स्रोत र साधन हुने गर्छ । त्यसको तुलनामा विपक्षीसँग सरकारलाई खबरदारी गर्ने र आफ्नो पार्टी पंक्तिलाई सक्रिय गराउनेबाहेक अरू स्रोत साधन हुँदैन । तर प्रचण्डले सरकारले बोलाइसकेपछि सर्वदलीय बैठक बोलाएर राजनीतिक होडबाजी मात्रै गरेको भन्दै आलोचना सुरु भएको छ ।