काठमाडौं खबर अशोज १०, २०८१
काठमाडौं । झोलुङ्गे पुल बनेसँगै नारायणीवारिसँग सुस्ताको सीधा सम्पर्क सुरु भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको करिब डेढ किलोमिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा बनेको मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाथ आचार्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगर, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
भारतीय भूमिले तीनतर्फबाट र एकतर्फ नारायणी नदीले घेरिएको सुस्ता क्षेत्रमा तीन सय ५० परिवारको बसोबास छ । पुल बन्नुअघि स्थानीयवासी भारतीय भूमि भएर तथा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । डुङ्गा दुर्घटना हँुदा मानवीय क्षतिसमेत ब्यहोर्नुपरेको थियो ।
एक हजार पाँच सय ७१ मिटर लामो उक्त झोलुङ्गे पुल रु २० करोड ९३ लाखमा निर्माण गरिएको हो । सो पुल तत्कालीन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा २०७२ सालमा निर्माण सम्झौता भएर निर्माण सुरु भएको हो । सम्झौता भएको आठ वर्षपछि पुल निर्माण कार्य सम्पन्न भएको हो । झोलुङ्गे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत् पनि पुगेको छ । यसअघि नारायणी नदीका कारण बिजुलीका खम्बा राख्ने समस्याका कारण त्यहाँ विद्युत् पुग्न सकेको थिएन ।