काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले कानुनविपरीत खेलाडी राखेको विषयमा अखिल नेपाल फुटबल संघ एन्फासँग स्पष्टीकरण सोधेको छ । बुधबार विभागले पत्र लेख्दै हेलो सरकारमार्फत् विदेशी खेलाडीले गैरकानुनी रूपमा काम गरिरहेको भन्ने उजुरी आएकोले के भएको हो सोको विषयमा यथाशीघ्र स्पष्ट पारी पठाउन भनिएको छ ।
गत सेप्टेम्बर १ तारिखदेखि चलिरहेको एन्फा महिला लिग २०२४ मा पर्यटक भिसामा आएर विदेशी खेलाडीहरूले श्रम स्वीकृतिविना नै खेल खेलिरहेको भन्दै हेलो सरकारमा उजुरी परेको थियो । १० टिम सहभागी सो लिगमा संकटा, वालिङ नगरपालिका र बागमती युवा क्लबका खेलाडीहरूले पर्यटक भिसामा आएर श्रम स्वीकृति नलिई खेल खेलिरहेको भन्दै गोरखा जिल्ला खेलकुद संघका सदस्य अमित खत्रीले हेलो सरकारमा उजुरी पनि दिएका थिए ।
श्रम ऐन २०७५ को (२३) मा विदेशी नागरिकले नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । भने श्रम नियमावलीले २०७५ को १५ मा श्रम इजाजत नलिई वा अभिलेख नराखी कुनै प्रतिष्ठानमा काम गरेको पाइएमा विभागले त्यस्तो विदेशी नागरिकलाई तुरुन्त कामबाट हटाउन सम्बन्धित रोजगारदातालाई आदेश दिनेछ भन्ने व्यवस्था रहेको छ ।