काठमाडौं खबर अशोज ४, २०८१
काठमाडौं । गत सेप्टेम्बर १ तारिखदेखि चलिरहेको एन्फा महिला लिग २०२४ मा पर्यटक भिसामा आएर विदेशी खेलाडीहरूले श्रम स्वीकृतिविना नै खेल खेलिरहेको भेटिएको छ । १० टिम सहभागी सो लिगमा तीन वटा क्लबका खेलाडीहरूले पर्यटक भिसामा आएर श्रम स्वीकृति नलिई खेल खेलिरहेको भेटिएको हो ।
श्रम ऐन २०७५ को (२३) मा विदेशी नागरिकले नेपालमा काम गर्न अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । भने श्रम नियमावलीले २०७५ को १५ मा श्रम इजाजत नलिई वा अभिलेख नराखी कुनै प्रतिष्ठानमा काम गरेको पाइएमा विभागले त्यस्तो विदेशी नागरिकलाई तुरुन्त कामबाट हटाउन सम्बन्धित रोजगारदातालाई आदेश दिनेछ भन्ने व्यवस्था रहेको छ ।
सो विषयमा गोरखा जिल्ला खेलकुद संघका सदस्य अमित खत्रीले हेलो सरकारमा उजुरी पनि दिएका छन् । उनले असोज ३ गते हेलो सरकारमा उजुरी दिँदै संकटा क्लब, वालिङ नगरपालिका टिम र वागमती युवा क्लबबाट खेल्ने विदेशी खेलाडीहरूले गैरकानुनी रूपमा खेल खेलिरहेको जिकिर गरेका छन् । त्यस्तै, गत अगस्ट १२ मा दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिग समूह चरणको खेलमा चर्च ब्वाइज क्लबले पारोविरुद्धको खेलमा पनि श्रम स्वीकृति नलिई तीन जना खेलाडीले खेलेको आरोप पनि उनले लगाएका छन् ।