काठमाडौं खबर अशोज ८, २०८१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरे । मंगलबार बिहान खुमलटारमै पुगेर मिश्रले प्रचण्डलाई भेटेको कुरा मिश्रले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले प्रचण्डसँग भएका केही विषयहरू उल्लेख गरेका छन् । भेटमा आफूले ‘देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने’ प्रचण्डलाई सुनाएको मिश्रले बताए । प्रचण्डसँग भएको भेटलाई केही बुँदामा उल्लेख गरेका मिश्रले सातौं बुँदामा प्रचण्ड पनि राजसंस्थाको बारेमा सोच्ने स्थितिमा पुगेको उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्नचाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।’ यसको अर्थ भनेको अहिले नै राजसंस्थाको माग गर्ने पक्षमा नपुगे पनि उनी यसबारेमा सोच्न थालिसकेका छन् ।
तर मिश्रले भनेजस्तै प्रचण्ड त्यो सोच्ने अवस्थामा पुगिसकेको भने हुन नसक्ने प्रचण्डका सचिवालयका अधिकारीहरूले बताएका छन् । प्रचण्ड केही फरक गर्नुपर्छ भन्नेमा पुगेको भए पनि उनी राजसंस्था नै पुनर्स्थापित गर्ने मुद्दामा भने नपुगेको ती सदस्यले बताए ।
यस्तो छ रविन्द्र मिश्रको स्टाटस
प्रचण्डसँग मनका कुरा!
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।
“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।” लामो व्याख्या सहित सारमा मैले यही भनेँ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:
१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।
२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ‘भिजनरी’ राजा रहेछन्।
३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४। राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए।
म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।