काठमाडौं खबर अशोज ७, २०८१
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले नेपाली समुदायलाई गर्ने भनेको सम्बोधन कार्यक्रम रद्द भएको छ । महावाणिज्यदूतावासले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको सूचना जारी गरेको छ ।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ ।’
स्रोतका अनुसार सम्बोधनकै क्रममा नेपाली समुदायले होहल्ला गर्ने र विरोधका कार्यक्रम गर्ने तयारी भएको सूचना पाएपछि सो कार्यक्रम रद्द गरिएको हो । यद्यपि दूतावासले कसका कारण सुरक्षा थ्रेट भएको हो ? भन्ने कुरा भने खुलाएको छैन ।