काठमाडौं खबर अशोज ७, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार एकाएक कार्यकर्ताहरूको भीड जम्मा भयो । आइतबार साँझ सहकारी ठगी मुद्दामा संसदीय छानबिन समितिले दोषी ठहर गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि एकाएक रास्वपा नेतृत्व त्रसित भयो । सभापति रवि लामिछानेसहित प्रमुख नेताहरू एकाएक पार्टी कार्यालय पुगे । पार्टी कार्यकर्ताहरूलाई म्यासेज पठाएर तुरुन्त कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो ।
त्यतिबेलासम्म प्रहरीले रविलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गर्ने मनस्थितिमा थिएन । प्रहरीले रविलाई पनि पक्राउ गर्नसक्ने जोखिम देखेर एक्कासी रास्वपा नेतृत्व पङ्तिले कार्यकर्तालाई तयारी अवस्थामा रहन भन्यो । बागमती प्रदेश कमिटीका सभापति डा. अच्युतम लामिछानेले मोबाइलमा सन्देश पठाउँदै उपत्यकामा भएका नेता कार्यकर्तालाई भेला हुन सर्कुलर जारी गरेको हो।
पार्टी कार्यालयमा उनले कार्यकर्ता जम्मा पारेर सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको ‘षड्यन्त्र’विरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन अपिल गरे । जबकि यो सहकारी प्रकरणमा दोषी देखिएका लामिछानेलाई प्रतिवेदन कार्यान्वयनको क्रममा नै पक्राउ पर्ने सम्भावना रहेको भए पनि प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी भने थिएन ।
आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना लागि नभएर नयाँ जन्मिँदै गरेको आशालाई जोगाउन एक ठाउँमा उभिनुपर्ने बताए । उनले भनेका थिए “आम सर्वसाधारण दिदीबहिनी दाजुभाइहरूलाई यो तहको षड्यन्त्रका विरुद्ध जुनसुकै तहमा जानुपरे पनि न्यायका लागि सत्यका लागि तयार रहनका निम्ति म अपिल गर्न चाहन्छु । मेरा लागि होइन, व्यक्तिका रूपमा रवि लामिछानेलाई बचाउनुपर्दैन, तर नयाँ जन्मिँदै गरेको यो आशा यो भरोसालाई चाहिँ जोगाउनुपर्छ साथी हो ।”
यसरी छवि पक्राउपछि झड्का खाएका रविले बेचैनीमा रातारात कार्यकर्ता झिकाएर रवि लामिछानेले तमासा देखाएका छन् । यद्यपि उनी सोमबार पक्राउ पर्ने सम्भावना रहेको छ ।