काठमाडौं खबर अशोज ६, २०८१
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनतर्फ गएको छ । कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै प्रहरीले पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको छ । उनी पनि गोरखा मिडियाको ठगी प्रकरणमा एक साझेदारको रूपमा रहेको संसदीय छानबिन समितिले उल्लेख गरेको थियो ।
सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।
गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।