काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आधा घण्टाको भेटघाट तय भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका दुई प्रधानमन्त्रीबीच सोमबार करिब आधा घण्टा भेटवार्ता हुने तय भएको हो ।
प्रधानमन्त्री ओलीले अमेरिकामा नै बंगलादेश, पाकिस्तानका नेताहरूसँग अमेरिकामै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । तर महासभाको होस्ट गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडनसँग भने ओलीको भेट नहुने भएको छ । उनीसँग स्वागत समारोहमा सामान्य हाइहेलो बाहेक थप भेटको कार्यक्रम नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओली पछिल्लोपटक प्रधानमन्त्री भएयता पहिलोपटक मोदीलाई भेट्न लागेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी हुने बताइएको छ । ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।