काठमाडौं खबर अशोज ५, २०८१
काठमाडौं । प्रहरीको तथ्यांकअनुसार काठमाडौंको बौद्ध, गौशालालगायतका स्थानमा धेरै मोटरसाइकल चोरी हुने गरेको भेटिएको छ । ट्राफिक प्रहरीमा परेको उजुरीको आधारमा महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल, बौद्ध परिसर लगायतका क्षेत्र सबैभन्दा हटस्पटको रूपमा रहेको देखिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको अध्ययन अनुसार बौद्ध, महाराजगञ्ज, गौशाला, काँडाघारी,बालाजु र स्वयम्भू क्षेत्र मोटरसाइकल चोरी हुने ‘हट स्पट’ हुन् । चोरीमा संलग्नहरूले लक तोड्ने ‘टी’आकारको साँचो बनाएर चोर्ने गरेका छन् ।
काठमाडौंको पशुपतिनाथ मन्दिरमा साउन महिनाभर कोटिहोम आयोजना गरिएको थियो । सो अवधिमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रबाट धेरै मोटरसाइकल र स्कुटर हराए । भिडभाड हुने समयबाहेक पनि गौशाला क्षेत्र मोटरसाइकल चोरीको ‘हट स्पट’मा पर्ने गरेको प्रहरीले जनाएको छ ।