काठमाडौं खबर अशोज ४, २०८१
काठमाडौं । काठमाडौंमा आजदेखि एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला सुरु हुँदैछ । ३० वर्षअघि नेपालमा नै भएको यो कन्फ्रेन्समा सबै देशका सरकारी निकायहरू सहभागी हुने भएका छन् । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्सिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।
सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायको आ-आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए । यसपटक सम्मेलनमा नवप्रवर्तनका विषयलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘आफ्नो नयाँ सोचलाई धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ’, उनले भने ।
सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्षण संस्थाको सहभागिता रहनेछ । सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।