काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलनमा दोषी ठहरिएका रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही हुने बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिब ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको भन्दै उनीमाथि कारबाही हुने बताएका छन् ।
सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उनको दाबी थियो ।
कार्यक्रममा उनले भने, ‘सहकारी कानूनमा दफा १२२ ले के भन्छ भने सहकारीमा ठग्ने मानिसहरु दुई खालका छन्। एउटा आफैँ सहकारीमा बस्छ। सहकारीलाई ठग्छ। एउटा आफू सहकारीमा बस्दैन। बाहिर बस्छ। तर विभिन्न माध्यामबाट सहकारीलाई ठग्छ। त्यसैले सहकारीमा बसेर ठग्नेहरु पनि ठग नै हुन्। तर आफू सहकारीमा बस्दैनन, बाहिर बस्छन्। कम्पनीमा बस्छन् वा केहीमा बस्छन्। तर सहकारीबाट पैसा लिएर जान्छन्, त्यो पनि ठग नै हो भनेर त्यो दफाले सहकारीमा बसेर पैसा दिने मात्रै होइन है, सहकारीको पैसा लिने पनि ठग हो। सहकारीमा बसेर ठग्नेहरु भन्दा पनि नबसेर ठग्नेहरु धेरै हुँदा रहेछन्।’