काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको विषयमा सत्यतथ्य विषय बाहिर ल्याएकोमा धन्यवाद ज्ञापन गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १०० दिने विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले रवि यत्तिको मान्छे छन् भन्ने आफूलाई थाहै नभएको बताए ।
कार्यक्रममा बोल्दै सहकारीको रकम अपचलनको विषय महामन्त्री गगन थापाले उठान गरेको भन्दै उनलाई धन्यवाद दिए । उनले भने ‘उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे, म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’
उनले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएको धन्यवाद दिएका हुन् ।