काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार सामाजिक सञ्जाल एक्समा जन्मदिनको शुभकामना दिए । शुभकामना दिँदै ओलीले भारतीय प्रधानमन्त्री मोदीको सुस्वास्थ्य, खुशी र निरन्तर सफलताको कामना गरेका छन् । ‘वर्षभरि सुस्वास्थ्य, खुशीसँगै तपाईँको नेतृत्वको निरन्तर सफलताको कामना गर्दछु । तपाईँले धेरैलाई प्रेरित गर्न सक्नु हुनेछ भन्ने कामना गर्दछु,’ उनले एक्समा लेखेका छन् । ओलीको सो पोस्टमा मोदीले पनि रिट्वीट गर्दै धन्यवादका साथमा दुई देशीय सहकार्य र समभावको लागि आग्रह गरेका छन् ।
यी त भए मोदी र ओलीका सार्वजनिक भएका सम्बन्ध । बाहिर देखाउने सम्बन्ध जस्तो भए पनि पटकपटकको व्यवहारबाट प्रधानमन्त्री ओलीसँग भारत अझै पनि सशंकित छ भन्ने कुरा पछिल्लो पटक ओली प्रधानमन्त्री बनेपछिको घटनाक्रमबाट पनि यकिन हुन जान्छ। प्रचण्ड सरकारमा सत्ता साझेदार दलको रूपमा भारतसँग सम्बन्ध सुधार्ने प्रयासमा लागेका ओलीको प्रयास त्यतिबेला त्यसै भयो । अहिले प्रधानमन्त्री भएपछि पनि उनले पटकपटक यसको प्रयास नगरेका होइनन् । तर भारतले उनलाई अझै खुशी मनले स्वीकारेको छैन ।
तेस्रो पटकको यो प्रधानमन्त्रीकालमा ओलीको पहिलो विदेश भ्रमण चीनबाट गराउन चिनियाँ अधिकारीहरूले तीब्र पहल गरिरहँदा पनि भारत झनै चिढिने भयले ओली प्रधानमन्त्री भएको ६५ दिनसम्म पनि कुनै पनि विदेश भ्रमणमा गएका छैनन् । उनी राष्ट्र संघको महासभामा भाग लिन नयाँ कार्यकालको पहिलो भ्रमण अमेरिका जाँदैछन् । केही समयअघि परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणमा प्रधानमन्त्री मोदीसँग भेट गर्दा समकक्षी ओलीलाई पनि भारत भ्रमणको निम्तो गर्छन् भन्ने धेरैको आकलन थियो । तर आरजु फर्किँदा सकारात्मक सन्देश लिएर आइनन् । बरु ओली नेतृत्वको सरकारलाई भारतले खासै महत्व नदिएको सन्देश ल्याएपछि भने ओली झनै निराश भएका छन् ।
आरजु निकट स्रोतका अनुसार अहिले पनि ओलीलाई प्रधानमन्त्रीको रूपमा देख्न भारत चाहिरहेको छैन र छिटो विकल्प खोज्न भनिरहेको छ । तर रातारात गठबन्धन बनाउने र भत्काउने खेलले राम्रो सन्देश नजाने र अहिलेका लागि यो सही विकल्प होइन भन्नेमा देउवा दृढ देखिएकाले यो गठबन्धन टिकिरहेको छ । अन्यथा भारत ओलीसँग थप सहकार्य गर्ने पक्षमा छैन ।
पटकपटक प्रयास गर्दा पनि भारतले सकारात्मक सन्देश नदिएपछि ओलीले ३१ गते बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै भारतलाई घुमाउरो पाराले घुर्क्याएका थिए । उनले संसदमा भनेका थिए : नेपाल असल छिमेकीको रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ, छुद्र र जाली छिमेकी होइन । असल छिमेकीको रूपमा, छिमेकीको अहित चिताउने छिमेकीको रूपमा होइन, छिमेकीको हित चिताएर काम गर्ने छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ । यति भनेर झनै चिढ्याएका ओलीले फेरि मोदीलाई जन्मदिनको शुभकामना दिएर फेरि सम्बन्ध सुधारको प्रयास गरेका छन् ।
भनिन्छ कूटनीतिमा धेरै बोल्नेले कुरा बिगार्छ । ओलीका लागि पनि त्यस्तै भएको छ । अघिल्ला अघिल्ला कार्यकालमा एउटा छिमेकीलाई च्यापेर अर्को छिमेकीलाई तथानाम गाली गरेका ओली अहिले भने छिमेकी देशसँगको सम्बन्ध मजबुत हुनुपर्नेमा सचेत हुन लागेको भान हुने गरेको छ । तर कूटनीतिक सम्बन्धलाई नै असर गर्नेगरी उनले बोल्ने छुद्र बचनले भने उनलाई नै समस्या पारिरहेको छ । तीनतिरबाट घेरिएको र करिब तीन चौथाईभन्दा धेरै वैदेशिक व्यापारमा आश्रित भारतलाई भने ओलीले बोलीकै कारण बिच्क्याएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।