काठमाडौं खबर अशोज २, २०८१
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सहकारी छानबिन समितिले दोषी ठहर गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद जाने दाबी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो दाबी गरेका हुन् । बाँस्कोटाले राजनीतिक सौदाबाजी नभए आगामी मंसिरमा हुने उपनिर्वाचनमा नै रविको क्षेत्रमा अर्को निर्वाचन हुने सम्भावना रहेको बताएका छन् ।
सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहँदा लामिछाने पक्षले भने उनले सफाइ पाएको दाबी गरेका छन् । यही अन्योलताका बीच एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बाँस्कोटाले भने यस्तो दाबी गरेका हुन् । उनले रविको नाम नलिईकन पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्षेत्र नम्बर २ मा फेरि उपचुनाव हुने दाबी गरेका छन्।
उनले भनेका छन् ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीनवटा गर्न पनि तयारी हालतमा बस्न सक्ने, कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्काजस्तै छ भनिन्छ। ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई!’