काठमाडौं खबर अशोज १, २०८१
काठमाडौं । नेपालको पहिलो मनकामना केवलकार आजदेखि पुन: सञ्चालनमा आएको छ । एनालगत प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि गत असार ३१ गतेदेखि बन्द भएको सो सेवा आजदेखि पुन: सञ्चालनमा आएको हो ।
अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको मनकामना केवलकारले जनाएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ देखि केबलकार सञ्चालनमा ल्याइएको थियो।
२६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।